
काठमाडौं । स्याङ्जा साहित्य प्रतिष्ठानले साहित्यकार डा. दामोदर पुडासैनी ‘किशोर’ लाई ‘यानीति साहित्य पुरस्कार’ समर्पण गरेको छ ।
स्याङ्जा पुतलीबजारमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. गोविन्दराज भट्टराईले पुरस्कार प्रदान गरे । कार्यक्रममा पुडासैनीलाई दोसल्ला ओढाई, नगद राशिसहित पुरस्कार प्रदान गरिएको थियो ।
प्रा.डा. भट्टराईले पुडासैनीजस्ता ऊर्जावान र स्वच्छ छविका लेखकलाई पुरस्कार प्रदान गर्दा पुरस्कार र संस्थाको गरिमा बढेको बताए ।
प्रतिष्ठानका अध्यक्ष विश्वप्रेम अधिकारीले साहित्य प्रतिष्ठानले आग्रह र पूर्वाग्रह नराखी निष्पक्ष ढङ्गबाट पात्र छनोट गरेको बताए ।
डा. पुडासैनीले पुरस्कारले रासायनिक मललेजस्तै काम गर्ने बताए ।
यानीति पुरस्कार स्याङ्जाका समाजसेवी यादव गिरी र उनका पत्नीहरू नीलकण्ठ गिरी र तिलकुमारी गिरीका नाममा उनका पुत्रहरू तुलसी गिरी, कृष्ण गिरी र विश्वेश्वर गिरीले स्थापना गरेका हुन् ।
कार्यक्रममा प्रमोद पंगेनीद्वारा सम्पादित ‘द्रष्टाका दृष्टिमा स्रष्टा विश्वप्रेम अधिकारी’, पूर्णप्रसाद अधिकारीद्वारा लिखित ‘अनुरञ्जन आफैंभित्र’ र चिन्तु गिरीद्वारा लिखित ‘आमा जन्मेको देश’ लगायतका पुस्तकहरू विमोचन गरियो ।