
काठमाडौं । जापान पठाइदिने आश्वासन दिएर ठगेको आरोपमा प्रहरीले एकजना मेनपावर सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ लेटाङ नगरपालिका–२ का ५० वर्षीय डिल्लीराम खतिवडा रहेका छन् ।
उनी जेनुइन प्लेसमेन्ट प्राइभेट लिमिटेड मेनपारमा सञ्चालक हुन् । उनी हाल काठमाडौंस्थित धुम्बाराही बस्दै आएका थिए ।
प्रहरीका अनुसार उनले ढकराज आचार्यसहित १२ जनालाई वैदेशिक रोजगारीका लागि जापान पठाइदिने आश्वासन दिएर प्रतिव्यक्ति आठ लाख रुपैयाँ उठाएका थिए । उनले जापान पुगेपछि प्रतिष्ठित कन्ट्रक्सनको काममा काम लगाइदिने र मासिक एकलाख ८० हजार तलब हुने आश्वासन दिएका थिए ।
उनले पीडितहरूबाट पटकपटक गरी ४६ लाख रुपैयाँ उठाएको प्रहरीले जनाएको छ ।
रकम उठाएर सम्पर्कविहीन भएपछि पीडितहरूले वैदेशिक रोजगार विभागमा निवेदन दिएका थिए । थप थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।