site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
Ghorahi CementGhorahi Cement

प्रधानमन्त्री पुष्पकमल दाहाल लामो विदेश भ्रमण सकेर आज शनिवार नेपाल फर्कँदै छन् । संयुक्त राष्ट्र महासभामा भाग लिन भदौ ३० गते नै अमेरिका लागेका दाहाल उतैबाट चीन भ्रमणमा गएका थिए ।

नेपालमा प्रधानमन्त्री नियुक्त हुनेबित्तिकै कुन मुलुकको भ्रमण पहिले गर्ने भन्दै अनावश्यक र अनुचित बहसवाजी हुने गर्छ । यसैबीच उनको विदेश भ्रमण पनि अधिकांश पूर्ववर्तिहरूजस्तै भारतबाट सुरु भयो ।

नेपालमा यस्तै अर्को अनुपयुक्त बहस विदेश भ्रमणको सफलताको मापदण्डका सम्बन्धमा हुनेगरेको देखिन्छ । भ्रमणका समयमा आतिथेय मुलुकले गर्ने सहायताको प्रतिबद्धतालाई सफलताको मानक मान्नेहरूको सङ्ख्या ठूलै छ । 

Dabur nepal
Agni Group

विकासोन्मुख भएकाले नेपालमा विकास सहायताको आकांक्षा हुनु पटक्कै अस्वाभाविक वा अनुचित होइन । तर, मित्र राष्ट्रको भ्रमणलाई ‘भिक्षाटन’ बनाउने प्रकारको अपेक्षाले राष्ट्रिय स्वाभिमान कमजोर बनाउँछ ।

यस्ता भिक्षाटनमा प्रचार र हस्ताक्षर गरिने कतिपय सहायता एवं सम्झौताको आवश्यकता र औचित्य कहिल्यै सिद्ध हुनसकेको छैन । कालान्तरमा घाँडो हुनपुगेका कतिपय सहायतालाई उतिबेला ठूलै उपलब्धिका रूपमा प्रचार गरिएको थियो ।

यसैले प्रधानमन्त्री दाहालको चीन भ्रमणको सफलताको मापन सम्झौतामा भएका हस्ताक्षर वा अनावश्यकरूपमा ठूलो भ्रमण टोलीलाई दिइएको मेजमानीका आधारमा हुन सक्तैन । दुई मुलकबीचको विश्वास कति बढ्यो भन्ने नै सफलताको कसी हुनुपर्छ ।  

विश्वासको मात्रा गणितीय आधारमा मापन गर्न सकिँदैन । व्यवहारमा देखिने परिवर्तनले त्यसको सङ्केत गर्छ । उदाहरणका रूपमा, चीनसँगका नाकाहरू कति सहज हुन्छन् वा नेपालमा चिनियाँ सहयोगका काम कसरी हुन्छन् भन्ने मापनको एउटा आधार हुनसक्छ ।

यसैले भ्रमण उपलब्धिपूर्ण भयो वा भएन भनेर अहिले टिप्पणी गर्नु हतार हुन्छ । तैपनि दाहाललाई गरिएको स्वागत सत्कार र व्यवहारले भने चीनले नेपाललाई केही सङ्केत दिएको देखिन्छ ।

चीनकै समेत प्रयत्नमा निमार्ण भएको कम्युनिस्ट गठबन्धन भत्काउन नेकपा ९एमाले० अध्यक्ष खड्गप्रसाद ओलीसँगै माओवादी अध्यक्ष पुष्पकमल दाहाल पनि सक्रिय रहेका थिए । तर, उनको स्वागत सक्तकारबाट चीनले दाहालसँग तुस राखेको छैन भन्ने सन्देश दिएको छ ।

यस्तै चीन नेपालका कम्युनिस्ट नेतामध्ये केहीलाई विशेष रुचाउँछ भन्ने भ्रम पनि सम्भवतः निराकरण गर्ने प्रयत्न भएको छ । गैरकम्युनिस्टसँग कस्तो व्यवहार होला भविष्यमा देखिने नै छ तर अहिले कसैलाई पनि चीनले ‘साख’ वा ‘कुसाख’ नठानेको सन्देश प्रवाहित भएको छ  ।

सम्झौतारसमझदारीमा हस्ताक्षर गरेपछि अर्को भ्रमण नहुँदासम्म नसम्झने पहिलेको चलन दोहोरिएन भने भ्रमणको उपलब्धि जनसमक्ष देखा पर्ने हो । यसैले सरकारी पक्षले भ्रमण ‘अपेक्षा गरेभन्दा बढी’ सफल र उपलब्धिमूलक भएको प्रचार गर्नुभन्दा कार्यान्वयनको अनुगमनमा ध्यान दिनु उचित हुनेछ ।

चीनको कूटनीतिक व्यवहार अरू मुलुकको भन्दा अलि फरक भएको मानिन्छ । सामान्यतः उनीहरू असन्तुष्टि तत्काल देखाउँदैनन् । सायद, भ्रमणको साँच्चैको मूल्याङ्कन सम्झौता कार्यान्वयन र दाहालका विपक्षीप्रति काठमाडौंस्थित दूतावासले देखाउने व्यवहारबाट हुनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  १०:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
चिकित्सकको सुरक्षामा सम्झौता
चिकित्सकको सुरक्षामा सम्झौता
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu