site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
‘माइनस’मा किताब बिक्री, बन्द हुने अवस्थामा पुस्तक पसल
Ghorahi CementGhorahi Cement

काठमाडौं । पछिल्लो केही समययता किताबको बिक्री अस्वाभाविक रूपमा घटेको प्रकाशकले बताएका छन् । विदेशबाट आयात गरिने पुस्तकमा सरकारले कर बढाएदेखि बिक्रीमा लागेको ओरालो यात्रा नरोकिएको प्रकाशकको भनाइ छ ।

संघीय सरकारले २०७६/७७ को बजेटमार्फत सबै प्रकारका पुस्तक (पाठ्यपुस्तक र गैरपाठ्यपुस्तक) आयातमा १० प्रतिशत भन्सार महसुलको घोषणा गरेको थियो । सोही समयदेखि नेपाली पुस्तकको बजार ओरालो लागेको प्रकाशक बताउँछन् ।

त्यति बेला प्रकाशकदेखि लेखकसम्मले असन्तुष्टि जनाएका थिए । भारत र अरू मुलुकमा प्रकाशित पाठ्यपुस्तकको आयात नै नगर्ने व्यवसायीले चेतावनी दिएका थिए ।

Dabur nepal
Agni Group

नेपालमा त्यसअघि बिनाभन्सार विभिन्न मुलुकबाट आवश्यकताअनुसार पाठ्यपुस्तक आयात गरिन्थ्यो । भारतबाट ८० र अरू मुलुकबाट २० प्रतिशत पुस्तक आयात हुने गरेको थियो ।

किताब प्रकाशनगृह बुक हिलका प्रकाशक भूपेन्द्र खड्का पुस्तकको बिक्री ‘माइनस’मा रहेको बताउँछन् । “नेपालमा अहिले पुस्तकको बिक्री माइनसमै छ भन्दा हुन्छ,” उनी भन्छन्, “वर्ष अथवा दुई वर्षमा कुनै एउटा किताब केही संख्यामा बिक्री हुँदैमा त्यसलाई आधार बनाएर बिक्री बढ्यो भन्न मिल्दैन ।”

पाँच/सात हजार बिक्री हुने ‘बेस्ट सेलर’का किताब अहिले एक/दुई हजारमा सीमित भएको उनी बताउँछन् । “अहिले धेरै कुरा सामाजिक सञ्जालमा आउँछ, सामाजिक सञ्जालमा देखिने पोस्टका आधार व्यापार राम्रो रहेछजस्तो लाग्छ । तर, त्यो रियालिटी होइन,” उनी अगाडि थप्छन्, “अहिले पुस्तक विक्रेताहरू भाडा तिर्न नसकेर बन्द गर्ने अवस्थामा पुगेका छन् ।”

अहिले पुस्तक प्रकाशन गर्न सक्ने अवस्थामा प्रकाशनगृह नरहेको उनको भनाइ छ । “नेपालमा खासगरी विदेशी पुस्तक पढ्नेको संख्या धेरै छ । पुस्तक पसलमा विदेशी पुस्तक पढ्न जाँदा नेपाली किताब पनि किनेर ल्याउने चलन छ । जब विदेशबाट आउने पुस्तकमा कर बढाइयो, त्यसपछि पुस्तकको बजार खस्किएको हो,” भूपेन्द्र भन्छन्, “त्यसलगत्तै कोभिड लाग्यो । कोभिड सकिएपछि आर्थिक मन्दी सुरु भयो । त्यसको असर अहिलेसम्म परिरहेको छ ।”

खाने, बस्ने, लगाउने, औषधोपचारजस्ता आधारभूत आवश्यकताभन्दा पुस्तक अध्ययन परको विषय भएकाले पनि यसको बजार घटेको उनको बुझाइ छ । “सरकारले पनि मान्छेको आवश्यकताको प्राथमिकता निर्धारण गर्दा पुस्तकलाई मनोरञ्जनसँगै पाँचौँ स्थानमा राखेको छ,” भूपेन्द्र भन्छन्, “नेपालमा पुस्तक पढ्ने कल्चर त परको कुरा भयो, बानी पनि छैन । यसको असर पनि परिरहेको छ । अधिकांश बच्चालाई विद्यालयमा पाठ्यक्रमबाहेकका किताब पढ्नुपर्छ भनेर सिकाइँदैन । घरमा बुवाआमाले पढ्दैनन् भने कसरी किताब पढ्ने बानीको विकास हुन्छ र पुस्तक बिक्री हुन्छ ?”

आर्थिक मन्दी, रोजगारी गुम्नु र अधिकांश युवा विदेश जानु किताबको बिक्री घट्नुको मुख्य कारण भएको उनको तर्क छ । “आर्थिक मन्दी पनि छ, यो जगजाहेर छ । तर, गरिब मुलुकका मानिसलाई विश्वका धनी मुुलुकहरूले लन्च गरेका महँगा ग्याजेट प्रयोग गर्नुपर्दो रहेछ,” उनी भन्छन्, “प्रि–बुकिङ हेर्दा गरिब मुलुकहरूबाट उत्तिकै अर्डर गरेको देखिन्छ । अटो शोहरू भइरहेका छन्, त्यहाँ लोभलाग्दो बुकिङ भइरहेको छ ।”

आफूहरूले सक्दो प्रयास गरे पनि अवस्था कठिन रहेको उनी बताउँछन् । पुस्तकको मार्केटिङ, लेखकलाई दिने स्थान, सम्पादनलगायत कार्यमा प्रकाशकले अधिकतम प्रयास गर्दा समेत अवस्था अनुकूल नरहेको उनको जिकिर छ । “मैले त स्पष्ट भन्दै आएको छु, अरू प्रकाशनगृहका साथीहरूले पनि यस्तै कुरा भन्नुहुन्छ,” भूपेन्द्र भन्छन्, “कतिपय साथीहरूले मुख फोरेर सार्वजनिक रूपमा नभन्नु भएको मात्रै हो, तर अवस्था प्रोडक्सन गर्न सक्ने छैन ।”

पाठ्यपुस्तकबाहेकका सामग्री पढ्ने बानी नहुनुलगायत सबै कारण जोडिँदा नेपालमा करिबकरिब किताबको बजार सकिएको उनको विश्लेषण छ । “हुन त प्रभाव पुस्तक बिक्रीमा मात्रै होइन, सबै क्षेत्रमा छ । तर, आममान्छेको रोजाइ र प्राथमिकतामा अध्ययन नपर्दा करिबकरिब पुस्तकको बजार सकिएको छ,” उनी भन्छन् ।

शिखा बुक्सका प्रकाशक पुष्पराज पौडेल पुस्तक बिक्री करिब ९० प्रतिशतले घटेको बताउँछन् । मुख्य कारण विश्वव्यापी आर्थिक संकट रहेको उनको धारणा छ । “पुस्तक बिक्री अहिले १० प्रतिशत पनि छैन । यसले पनि अहिले हाम्रो किताबको बजार कहाँ छ भन्ने थाहा हुन्छ,” पुष्पराज भन्छन् ।

अपेक्षित गुणस्तरीय पुस्तक नआउनु पनि बजार घट्नुको अर्को कारण रहेको उनी बताउँछन् । “सायद आफूले चाहे र खोजेअनुसारको पुस्तक नआउनु पनि अर्को कारण होला,” उनले भने ।

पुस्तक राम्रो भए सबै उमेर समूहका पाठकले जुनसुकै विषयका किताब पढ्ने उनको बुझाइ छ । तर, आख्यानमा अलिक बढी रुचि पाठकमा रहेको आफूले पाएको उनी सुनाउँछन् ।

“मेरो आफ्नै पनि पुस्तक पसल छ । म काउन्टरमा बसेर सोधिरहेको हुन्छु, राम्रो लाग्यो भने जुनसुकै पुस्तक पनि सबैले पढ्ने गरेको मैले पाएको छु,” उनी भन्छन्, “केही समयअगाडि लभ स्टोरीमा आधारित आख्यान पढेर मलाई पूर्वसचिवले फोन गर्नुभएको थियो । त्यसैले राम्रो पुस्तक लेख्न सके सबै पाठकले पढ्छन् ।”

रत्न पुस्तक भण्डारका प्रमुख गोविन्द श्रेष्ठ अहिले पाठकलाई दैनिक गुजारा चलाउन नै कठिन रहेको बताउँछन् । आर्थिक अवस्था कमजोर हुँदा अरू क्षेत्रमा जस्तै पुस्तकमा पनि असर परेको उनको भनाइ छ ।

“अहिले मान्छेलाई खान, लगाउन नै धौधौ छ । मान्छेले किताब किनेर पढ्ने भनेको अतिरिक्त कमाइ भएपछि हो,” उनी भन्छन्, “महँगी बढ्नेक्रम रोकिएको छैन, तर मान्छेको आम्दानी थुप्रै वर्षयता बढेको छैन । यसको प्रत्यक्ष असर पुस्तक बिक्रीमा पनि देखियो ।” पाँच वर्षयता पुस्तकको बिक्री अनपेक्षित रूपमा घटेको उनी बताउँछन् ।

गुणस्तरीय नहुनु बिक्री घट्नुको एउटा कारण हुन सक्ने तर यही नै मुख्य पक्ष नरहेको गोविन्दको तर्क छ । “गहकिलो पुस्तक मात्रै यसको कारण होइन, किनभने मदन पुरस्कारको सर्टलिस्ट सार्वजनिक हुँदा पनि ती पुस्तक बिक्री उल्लेख्य रूपमा भएन,” उनी भन्छन्, “पद्यश्री पुरस्कारको समाचारले पनि ती पुस्तकको बिक्रीमा असर गरेन ।”

पाँच वर्षअघिसम्म ठूला पुरस्कार पाएपछि ती पुस्तकको बिक्री उल्लेख्य हुने गरेको बुक हिलका भूपेन्द्र बताउँछन् । अहिले ‘स्टक’मा रहेका पुस्तक पनि बिक्री नहुने अवस्था रहेको उनी सुनाउँछन् ।

युवापुस्ता विदेश जाने संख्या बढ्नु पनि यसको अर्को कारण रहेको रत्न पुस्तक भण्डारका सञ्चालक गोविन्द औँल्याउँछन् । “मलेसिया, खाडी जाने एउटा तप्का छँदै छ, अहिले प्लस टु पढेपछि सकेसम्म कोही पनि नेपाल बस्न चाहँदैन,” उनी भन्छन्, “अहिले प्लस टुमा विद्यार्थीको संख्या ठूलो भए पनि डिप्लोमा पढ्ने विद्यार्थीको कलेजलाई अभाव छ । प्लस टु पढेर जो पढ्नलाई बाहिर गइरहेका छन्, त्यो संख्या ठूलो भएका कारण पनि पुस्तक बिक्रीमा असर परिरहेको छ ।”

केही प्रकाशक अहिले किताबको बजार नरहेको स्वीकार गर्छन् । तर, वास्तविकता बताए नकारात्मक टिप्पणी गरेको जस्तो हुने भन्दै यसबारे बोल्न मान्दैनन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  ०६:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
चिकित्सकको सुरक्षामा सम्झौता
चिकित्सकको सुरक्षामा सम्झौता
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu