site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
शीर्ष नेताका भ्रष्ट र गद्दारी चरित्रले पूर्वराजाको आकर्षण बढ्यो
Siddhartha BankSiddhartha Bank

कृष्ण पहाडी अहिंसावादी नागरिक अगुवा हुन् । २०६२–६३ सालको जनआन्दोलनमा राजनीतिक दलभन्दा अग्रमोर्चामा रहेर परिवर्तनको भूमिका खेलेका पहाडी कहिल्यै लाभ वा लाभका पद लिएका छैनन् । 

लाखौँ नागरिक सडकमा उत्रिएर ल्याएको परिवर्तन शीर्ष नेताहरुको व्यवहारका कारण अलोकप्रिय बन्दै गएको उनलाई चित्त बुझेको छैन । 

पूर्वराजा ज्ञानेन्द्र शाह सक्रिय हुनुमा नेताहरुको भ्रष्ट र गद्दारी चरित्रले मलजल गरेको उनको बुझाइ छ । 

Agni Group
NIC Asia

पछिल्लो समय धार्मिक र जातीय राजनीतिको नारा विस्तारै बढ्न थाल्दै गर्दा पूर्वराजाको सक्रियता, राजनीतिक दलको भूमिका, नागरिक समाजलगायतका विषयमा केन्द्रित रहेर बाह्रखरीका हरिबहादुर थापा बलराम पाण्डेले बिहीबार दिउँसो पहाडीसँग गरेको लामो कुराकानीको सम्पादित अंश–

–गणतन्त्र स्थापनाको डेढ दशकमै राजावादीहरु फेरि सलबलाइरहेका छन् । फ्याँकिइसकेको व्यवस्थाको पक्षमा किन नागरिकको आकर्षण बढ्दै गएको होला ?

Global Ime bank

पूर्वराजावादीहरुको यो आन्दोलन होइन, अभियानमात्रै हो । अभियान परिवर्तनका लागि होइन व्यवस्था पुनरागमनतर्फ उन्मुख छ । तर, मुलुकको स्थिति एकदमै गम्भीर हुँदै गएको देखिन्छ । 

भन्न खोजेको के हो भने लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था फाल्ने मात्रै होइन कि पुरानो पञ्चायती ‘ह्याङओभर’सहितको ‘राणा–शाह’ गठबन्धनसहितको राजतन्त्रको पुनरागमन गर्न खोजिँदैछ । उनीहरुको डरलाग्दो नारा छ, ‘राजा आऊ देश बचाऊ ।’ यो भनेको निरंकुश राजतन्त्र, सर्वाधिकार सम्पन्न राजतन्त्रको कुरा गरिरहेका छन् ।

Pahadi1-1695978340.jpg
–अठार–उन्नाइस वर्षअघि निरंकुश राजतन्त्रले नागरिकलाई त्यति धेरै दुःख दिएको थियो, यति छिट्टै कसरी बिर्सिने अवस्था आयो ?

२०६१ सालमा पूर्वराजाले निरंकुश शैलीमा टेलिफोन, इन्टरनेट बन्द गर्ने निर्णय गर्नुभयो । त्यो अहिलेको पुस्ताले भोगेको छैन । त्यसबेला भएका खराब र निरंकुश कार्य अहिलेको पुस्ताले देखेन पनि ।

हो, नागरिकको ‘रेस्पोन्स’ पूर्वराजाप्रति बढेको देखिएको छ यसलाई स्वीकार गर्नैपर्छ ।  तर भोलि पूर्वराजाले संविधान फालेर मलाई पुनःस्थापना गर्नुपर्‍यो भनेर आन्दोलन भयो भने त्यसमा कति सडक उत्रन्छन् ? अभियान हेर्ने जमात र आन्दोलनमा समर्थन गर्ने, जेल जाने, भीड्न जानको जमात फरक हुन्छ ।

हामीले के पनि बुझ्न आवश्यक छ भने यो लोकतान्त्रिक व्यवस्था हो । सबैले आ–आफ्नो कुरा गर्न पाउने अधिकार छ । यदि मतदान भयो र त्यसमा भाग लिनुभयो भने त्यसको समर्थनमा कति आउँछन् भन्ने हेर्नुपर्छ । 

हामीले सत्यको धरातलमा यो कुरा स्वीकार गर्नुपर्छ पूर्वराजाप्रति ‘रेस्पोन्स’ चाहिँ बढेको छ ।

–पूर्वराजाप्रति ‘रेस्पोन्स’ बढेको के कारणले होला त ?

नेताहरुको नालायकीपनले । लोकतन्त्रप्रति सत्तासीन दलहरुले गद्दारी गरे । पहिले नै हामीले एउटा कार्यक्रम गरेर भनेका थियौँ– ‘शीर्ष नेता भ्रष्ट छन् नेपाली जनता त्रस्त छन् ।’
मूल कुरा नै यही हो । यसपछिका पाँचवटा कारण पनि छन् ।

यो व्यवस्थाका विशेषता हेरौँ त –

लोकतन्त्र– लोकतन्त्रमा आधारभूत स्वतन्त्रता प्राथमिकतामा पर्छ । 

सामाजिक न्यायको प्रत्याभूतिसहितको अहिलेको व्यवस्था लोकतान्त्रिक गणतन्त्रात्मक हो ।  

लोकतन्त्रमा कानुन र संविधानभन्दा माथि कोही छैन भन्ने हो । कानुनभन्दा माथि नेता, नेता पत्नी र पुत्र–पुत्री देखिए । 

त्यसका ठोस उदाहरण पनि छन् ।

जस्तो– माओवादीले बन्दुक बोकेर कथित क्रान्तिको कुरा गरेकै हो । हिंसाको वकालत गरेकै हो । हिंसाप्रति हाम्रो सधैँ असहमति रह्यो । यतिखेर उनीहरु भ्रष्टाचारका घटनामा मुछिएका छन् ।

पहिलो– नक्कली भुटानी शरणार्थी प्रकरण । जब शीर्ष नेताको पत्नीको कुरा आयो । एकजना पूर्वप्रधानमन्त्रीकी पत्नी र अर्का पूर्वप्रधानमन्त्रीका पीएको कुरा आएपछि शीर्ष तहमा अब यहाँभन्दा अघि नबढ्ने सहमति भयो ।

जे भयो भयो– शीर्ष नेताको तहमा नथाल्ने भनियो ।

यी त राजा महाराजाभन्दा पनि बदमास रहेछन् भन्ने जनताको तहबाट देखियो ।

Pahadi5-1695978341.jpg

माओवादीका तीन–चार जनाको नाम दिन सक्छु । 

माओवादीको भाष्यकार को हो ? बुद्धिजीवीलाई आकर्षित गर्ने पात्र बाबुराम भट्टराई होइनन् ? उनको अवसान कहाँबाट भयो भने नक्कली ‘श्री पशुपति टिकिन्छा गुठी’ खडा गरेपछि । त्यसका लागि करोडौं रुपैयाँ दोहन गरेको आरोप छ । अदालतको अवज्ञा पनि उहाँहरुले नै गर्नुभयो । 

माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि पनि अनुसन्धान गर्नू भनिसकेपछि ‘म नै अन्तिम सत्य हुँ’ भन्ने शैलीमा पुष्पकमल दाहालले ‘माधव नेपाल निर्दोष हुनुहुन्छ’ भन्नुभयो । यो नेपाली जनताले स्वीकार गरेका छैनन् ।

माधव नेपालले पटक–पटक निर्णय गरेका छन्, उनीहरु कारबाहीको दायरामा आउनुपर्दैन ? बाबुराम भट्टराई प्रधानमन्त्री भएको माओवादीबाट होइन ? 

माओवादीको अर्को उदाहरण हेर्नुस्– रामबहादुर थापा सैन्य योजनाकार होइनन् ? उनका छोरो फरार छन्, सल्लाहकार पक्राउ परेका छन् । बादलको पालामै सरकारी कार्यदल किन बनाइएको ? भुटानी शरणार्थी कार्यालय बन्द गरिसकेपछि कार्यदल किन बनाइएको ? उनको अवसान पनि त्यहीँबाट भयो ।

अर्को सुन काण्डको उत्खनन् भयो । गएर कृष्णबहादुर महराको छोरालाई पक्राउ गर्नुपर्ने अवस्था बन्यो । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको छोरालाई बयान लिनुपर्‍यो । उनीहरुसँग करोडौं–अरबौं रुपैयाँको जग्गा छ भन्ने आरोप छ । 

२०६० पछिका सबै पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषद्का अध्यक्ष, मन्त्री र उच्चपदस्थ कर्मचारीहरुलगायत पदासीन सबैको सम्पत्ति छानबिन गरेको भए मत्थर हुन्थ्यो । निरंकुश राजतन्त्र चलाएका पूर्वराजा ज्ञानेन्द्र पनि यसैमा पर्थे ।

उनले पनि मन्त्रिपरिषद्को अध्यक्ष भएर काम गरेका हुन् । शक्ति दुरुपयोग गरेका हुन्, दरबारका निम्ति बजेट डरलाग्दो गरी बढाएका हुन् । 

पछिल्लो समयमा जनविश्वास आर्जन गर्न नन्दकिशोर पुन, रामबहादुर थापा, आरजु राणा देउवा र यति–ओम्नीमा मुछिएकाहरुको सम्पत्ति छानबिन गरेको भए व्यवस्थामाथि यति धेरै प्रश्न उठ्दैनथ्यो । तर केही भएन ।

pahadi4-1695978341.jpg
त्यसो भए निरंकुश राजतन्त्र हिमायतीहरुले टाउको उठाउन खोज्नुको मूल जड भ्रष्टाचार नै हो ?

गणतन्त्र भनेको संविधान–कानुनभन्दा माथि कोही छैनन् भन्ने हो । घटनाक्रमले कानुनभन्दा माथि छोटे राजाहरु बढे भन्ने सन्देश गयो । 

तीनवटै काण्डमा माओवादीका शीर्ष तहका नेताको संलग्नता देखियो । 

नेताको भ्रष्ट चरित्रले गर्दा ठोकिँदै अमूक पात्रमा जनता पुगे । कहिले झिल्के पात्रमा ठोकिएका छन् कहिले पूर्वराजातर्फ पुगेका छन् ।

दोस्रो कारण

संघीयता– मुलुक तोड्न होइन मुलुक जोड्न हुनुपर्थ्यो । कम्युनिष्ट पार्टीमा विकेन्द्रीकरणको परिकल्पना हुँदैन, उनीहरु केन्द्रीकरणकै हिमायती हुन् । 

उसले राज्यलाई ‘प्रशासनिक युनिट’को रुपमा हेर्छ । संघीयता न त प्रत्यायोजित भयो न भ्रष्टाचार रोकियो । संघीयता मधेस आन्दोलनको उपज थियो । कोही यसको विरोधी थिए नै उनीहरुको आक्रोशलाई यसले बल पुग्यो ।

तेस्रो कारण हो धर्म निरपेक्षता– 

धर्म निरपेक्षतामा शान्तिका खातिर नागरिक मौन नै थिए । शक्ति आर्जनका लागि धर्मको राजनीति सात दलकै नेताले सुरु गरे ।

उदाहरणका लागि बीपी कोइराला समाजवादी हुनुहुन्थ्यो । क्रियासमेत नगर्नुभएको हो । बीपी कोइरालाकै छोरा डा. शशांक कोइरालाले राजनीतिको तावा सेक्न हिन्दू राष्ट्रको नारा सुरु गर्नुभयो । धर्मनिरपेक्षताको घोषणा गरेको गिरिजाप्रसाद कोइरालाले नै अरु त सहयोगी पात्रमात्रै हुन् ।

उम्किन पाउनुहुन्न उहाँहरु । उहाँकै भतिज शेखर कोइरालाले नै धर्मकै नाम दिएर राजनीतिको तावा सेक्नुभयो ।

हुँदा–हुँदा पुष्पकमल दाहाल पनि गेरुवस्त्र लगाउँदै नौटंकी गर्न थाल्नुभयो । त्यतिमात्रै होइन केपी ओलीजस्ता खाँटी कम्युनिष्टले रामको जन्म नेपालमा भएको हो भन्न थाल्नुभएको छ । अयोध्या चितवनको माडीमा पर्छ भनेर हावादारी कुरा गर्नुभयो ।

Pahadi3-1695978341.jpg

यो भुसको आगोजस्तै बढ्दै गयो । अब नागरिकलाई के लाग्न लाग्यो भने धर्म निरपेक्षता भनेको सबैको होइन । भारतमा पनि धार्मिकस्थलमा कठोर कानुन छ । यहाँजस्तो मन्दिरको अघि रक्सी र मासु बेच्न पाइँदैन । 

पश्चिमबाट आएको पैसा धर्मान्तरणका लागि खर्च भएको छ भन्ने आरोप लाग्न थाल्यो ।  पूर्वराजावादीहरुले के देखे भने चुनावबाट राजतन्त्र स्थापना हुँदैन । धर्मकै नाममा आन्दोलन गर्नुपर्छ भन्ने थाहा पाए ।

पश्चिमाहरुले पनि नेपालमा धर्मका लागि खर्च गरे र गरिरहेका छन् । कुनै समूहको नाम लिन चाहन्न । पश्चिमा धर्मको पैसा नलिने संस्था कमै हुन थाले । सँगै धर्मनिरपेक्षताको स्वामित्व पनि कसैले लिएन । खड्गप्रसाद ओलीले अयोध्या नेपालमा पर्छ भनिदिनुभयो । 

बुद्ध भारतमा जन्मिएका हुन् भन्दा हामीलाई कत्रो चित्त दुखाई भएको छ । सगरमाथा चीनमा पर्छ भन्दा त्यस्तै भयो । अनि अयोध्या नेपालमा पर्छ भनेपछि भारतका धार्मिक समूहले राजनीति थाले । 

कम्युनिष्ट प्रोपागान्डाविरुद्ध भारतको धार्मिक समूह आरएसएसले ठूलो अभियान नेपालमा सुरु गर्‍यो । यो कुरामा कसैले ध्यान नै दिएको छैन । धर्मनिरपेक्षता त्यसै बेवारिसे अवस्थामा पुग्यो । धर्म निरपेक्षता भनेको पुरानो धर्म मास्ने र अरु धर्मलाई बढावा दिने रहेछ भन्ने भयो त्यसमा रोटी सेक्न थाले ।

चौथो कुरा–

समावेशी र समानुपातिक संघीयताको पिलर नै हो । यो के का लागि परिकल्पना गरिएको थियो भने जो संसद्मा प्रतिनिधित्व गर्न सक्दैनन् उनीहरुका लागि हो । महिला र दलितका लागि विशेष कोटा छुट्टयाइएको थियो ।

समानुपातिकको दुरुपयोग भयो पैसामा बेचियो । समानुपातिक आरजु राणा र सुजाता कोइरालाका लागि खपत भयो । उनीहरु प्रधानमन्त्री श्रीमती र छोरीहरु हुन् । तिनीहरु त प्रत्यक्षतर्फ जानुपर्थ्यो गएनन् ।
 
अर्को हो दलित मुक्तिको कुरा ।

माओवादीको नकाव त त्यो दिन च्यातियो जुन दिन रुकुममा दलित युवालाई खोलामा धकेलेर मारियो ।  त्यसको पक्षमा पैरवी गर्ने काम माओवादीका नेता जनार्दन शर्माबाट भयो ।  त्यो पुष्पकमल दाहालको असली अनुहार हो । यो संविधानबाट दलितको पनि मुक्ति भएन । भ्रष्टाचार शिखरमा पुग्यो । 

गणतन्त्र दिवसको दिनमा तीन तहका अदालतबाट दोषी भएका व्यक्तिलाई राष्ट्रपतिले आममाफी दिनुभयो । यसबाट नागरिकमा सन्देश के गयो त ?

के गयो भने हत्यारालाई आममाफी दिने व्यवस्था रहेछ भन्ने भयो । रेशम चौधरीकाबारेमा राष्ट्रपतिले सर्वोच्चमा निस्सा माग्नुपर्थ्यो । प्राध्यापक कुटेको छ मुद्दा फिर्ता लिइयो । 

संविधान दिवसको दिनमा हत्यारा ठहरिएका डनलाई आममाफी दिएपछि संविधानको बदनाम गर्नेले ठाउँ पाए ।

मैले पहिलेदेखि भन्दै आएको छु, नेपालमा लोकतन्त्रमाथि खतरा पूर्वराजाबाट होइन यिनै राजनीतिक दलका नेताहरुबाट छ । नामै लिएर भन्दा पुष्पकमल दाहाल, शेरबहादुर देउवा, माधव नेपाल, खड्ग ओलीबाट खतरा छ ।

– अब राजा ज्ञानेन्द्रबाट खतरा बढ्न थालेको हो ? त्यसो भए मुलुकको राजनीतिक अवस्था कतातर्फ केन्द्रित भइरहेको छ ?

पूर्वराजाप्रति भक्तपुर, सुर्खेतलगायतका स्थानमा आकर्षण देखियो । कालीकोटदेखि जुम्लासम्म पुग्दा यथार्थलाई मैले नजिकबाट पनि हेरेँ । 

उनीप्रति ‘रेस्पोन्स’ बढेको छ । नेताहरुलाई खेद्ने काम भएको छ । उनीहरु बिना सुरक्षा कतै जान सक्ने अवस्था छैन ।

अब दुईवटा डरलाग्दो अवस्था देखिँदैछ । अमेरिकाको स्टेट डिपार्टमेन्टले निकालेको प्रतिवेदनमा लेखिएको छ– नागरिक समाजका नेताहरुका अनुसार भाजपासँग आवद्ध धार्मिक दक्षिणपन्थी नेताहरुलाई भारतले पैसा खुवाएको छ ।

नागरिक समाजका नेता भनेको को हो उल्लेख छैन । अब त्यो रिपोर्टले के भन्ने खोजेको हो भने नेपालमा अब धर्मका नाममा द्वन्द्व हुन्छ भनेर पहिल्यै उसले हिन्दु राष्ट्रको वकालत गर्नेहरुलाई भाजपाको दक्षिणपन्थी समूहका समर्थक भनेको छ । यसरी डामिएको छ ।

संविधानमा धर्मनिरपेक्षता भए पनि सनातनदेखि चलीआएको उल्लेख गरिएको हुनाले पश्चिमाहरु त्यो धारालाई हटाउन चाहन्छ । उनीहरुको लाइन धर्म परिवर्तन गराउन पाउनुपर्छ भन्ने हो ।

अब मुलुक दुई अतिवादमा पर्न खोज्दैछ ।

Pahadi2-1695978341.jpg

पहिलो, यहाँ पूर्वराजाको पुनरागमन निम्ति हिन्दु राष्ट्र र हिन्दुत्व खतरामा पर्‍यो भनेर हल्ला गरिँदैछ । यसको चपेटामा नागरिक समाज र प्रेस पर्छ । धार्मिक अतिवादबाट पूर्वराजा अघि बढ्न चाहन्छन् ।

दोस्रो अतिवाद हो जातीय नारालाई चर्काएर जनवादी गणतन्त्रमा जाने प्रयास ।

नेपाल यसको चपेटामा छ । सडक यिनैको कब्जामा छ । एउटा साम्यवादीको सपना र अर्को धार्मिक अतिवादबाट पूर्वराजाको पुनरागमनको प्रयत्न ।

२०६२–६३ को भन्दा ठूलो आन्दोलन भयो भनेमात्रै राजसंस्थाको पुनःस्थापना हुन सक्छ ।

नेताहरु भ्रष्ट भएपछि पोखिने विकल्प भएन र त्यो मत पूर्वराजातिर ठोकिएको छ । लोकतन्त्रलाई खतरा छ सबैभन्दा पहिला भ्रष्ट नेताबाट । हामीजस्ताको मनमा त हाहाकार पैदा भएको छ । विद्रोह गर्दा व्यवस्था नै जान्छ कि भन्ने देखियो । आफैँले ल्याएको व्यवस्था छाडेर कसरी भाग्ने ?

जनयुद्ध दिवस भनेर बिदा दिन थालियो । ३२ सिटे पार्टीले ८९ सिट भएको पार्टी कांग्रेसलाई कब्जा गरेको छ, शेरबहादुर देउवाको टाउकोमा चढेर जनयुद्ध दिवस विदा दिने काम भएको छ ।

त्यस दिनदेखि लोकतन्त्रको किस्ताबन्दीमा हत्या सुरु भयो । जनयुद्ध दिवस मनाउनुको अर्थ २०६२–६३ को आन्दोलनलाई छायामा पार्नु हो । कांग्रेस भ्रष्टको पार्टी हो कि बीपीको ? मान्छेहरु दाजु–भाउजुको पार्टी भन्छन् । शेरबहादुर देउवा र आरजुको पार्टी भन्छन् ।

नागरिकमा ठूलो आक्रोश छ । पुष्पकमल दाहाल र शेरबहादुरबीच किन हात मिल्यो भने यो पीडकहरुको एकता हो । म जीवनमा अहिंसा र सद्भाव त्याग्दिन । यसमा कसैसँग सम्झौता हुँदैन । 

अहिलेको धेरै दोष कांग्रेस र एमालेको छ । पञ्चायतमा मान्छे राजाको दास थिए, त्यो ठाउँ शीर्ष नेताले लिए । यो संसद्, राष्ट्रिय पञ्चायतजस्तो भयो भनेर हामी सडकमा निस्केको हो कि होइन ? संसद्ले ०८४ सम्म थेग्न सक्छ कि सक्दैन भन्न सकिने अवस्था छैन ।

Pahadi9-1695978342.jpg

– यस्तो बेलामा संसद्ले के गर्न सक्छ ?

संसद् ठूला भनिएका नेताहरुको ‘दास’ भयो । पुरानो पञ्चायतको बाटोमा हिँड्यो । अहिले पनि यिनीहरु भ्रष्टको दास भए । स्वामिभानको आवाज आएन ।

आरजु देउवा, आजको दिनमा राष्ट्रिय अभियुक्त हो । उनै संसद्मा उभिएर म कसैसँग डराउँदिन भनेपछि के बाँकी रह्यो ? 

हामी कसैका दास होइनौँ । हामीले ल्याएको लोकतन्त्र आरजु देउवा र सुजाता कोइरालाका कारण जान लाग्यो भने हामी टुलुटुलु हेरेर बस्ने ? यी सबै कुराको वितृष्णा भएपछि मान्छेहरु पूर्वराजातर्फ ठोक्किन थाले ।

दुई वर्ष अघिसम्म पूर्व राजाका वरिपरि बोलाइएका र भाडाकाजस्ता देखिन्थे, अहिलेको फरक छ । स्वतःस्फूर्त पनि देखिएका छन् ।

यो मान्छेमा बढ्दो वितृष्णाको कारण हो यो कहाँ पुगेर पोखिन्छ भने धर्मको बाटोमा कि जातीय राज्यको बाटोमा ।

Pahadi8-1695978342.jpg

– अब के गर्ने ?

अमेरिकाको संविधान कतिपटक संशोधन भयो ? राष्ट्रपतिको कार्यकाल दुईमात्रै हुने पनि बनाइयो । ०४७ को संविधान पानी पिउन नपाइ म¥यो । 

भारतको संविधान १०५ पल्ट संशोधन भयो । यसको प्राण मर्न दिनुहुँदैन । 

बाँकी कुरा सडक र संसद्का आन्दोलन समेट्न सकिन्छ । तर संविधानका विकल्प खोज्दा कुन संविधान माग्ने । अन्तरिम कि ०४७ को कि त्यो भन्दा अघिको ? यो संविधानको विकल्प खोज्न हुँदैन जे चाहिन्छ प्राण राखेर संशोधन गरे भइहाल्यो । संविधान संशोधन नगर्दा आक्रमण बढी भयो ।

अहिले पूर्वराजासँग भएका दुई चार सय मान्छे अर्थपूर्ण छन् यसको लागि शीर्ष नेता जिम्मेवार छन् ।  संविधान नदीजस्तै हो । यो बग्दो छ । हामी गरिब थियौँ गरिबै संविधान बनायौँ ।  यो उत्कृष्ट संविधान भनेको छैन । हामीले फुसको घर बनाएको हो । २–४ वर्षमा फुसको छानो फेरिइरहनुपर्छ । त्यस्तो छानो ठूलो हावाहुरी आयो भने उड्न सक्छ । यो संविधान त्यस्तै छ ।

यो आफूले बनाएको घर हो अब पिलर हाल्नुस्, टिन लगाउनुस् समृद्धिको मागबाट संविधान संशोधन गर्दै नागरिकको विश्वास जित्नुस् । जति भ्रष्टाचारका काण्ड छन्, माओवादीको संलग्नता नभएको भेटिँदैन, जुनसुकै काण्डमा पनि शीर्ष नेता मुछिएकै हुन्छन् । उनीहरुबीच ‘खानेकुरा’मा राष्ट्रिय सहमति बन्छ ।

अहिलेका नेताहरुमध्ये एक हुन् शेरबहादुर देउवा । उनीसँग कुन चाहिँ ऊर्जा छ ? कुन दर्शन छ ? कुनै सिद्धान्त छ ? कुनै मूल्य छ ? कुनै मान्यता छ ? कुनै नैतिक आचरण छ ? कुनै सुशासनको तत्व जोडिएको छ ? शेरबहादुर देउवाले लोकतन्त्रको लागि योगदान कहाँ गरे ? 

इतिहासमाथि प्रहार नगरौँ त । ०६१ मा देउवा पक्राउ परेको मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचारको आरोपमा हो । उनले बीपीसँग तुलना गरेर ०१७ सालजस्तै हो भने दासहरुले थपडी बजाए ।

बीपी कोइराला भ्रष्टाचारमा पक्राउ परेको हो ? बीपी कोइरालालाई कसैले यसबारेमा प्रश्न पनि गर्न सक्दैन । शाही आयोग पो गलत थियो । अवैध भएको हुनाले त्यसको निर्णय नमानिएको हो ।

देउवामा ऊर्जा र तागत केही पनि छैन । माओावदीको पाउमा परेर ‘जनयुद्ध दिवस’ जिन्दावाद भनेर बुझाउनेले लोकतन्त्रको कुरा गर्न मिल्छ ? 

अर्काे त, रामबहादुर थापाको गिरफ्तारी खोई ? कृष्णबहादुर महराको गिरफ्तारी खोई ? माधव नेपाल र बाबुराम भट्टराईको गिरफ्तारी खोई ? आरजु राणालाई गिरफ्तारी गरिएको खोई ? अनेक काण्डमा मुछिएकाहरुमाथि अनुसन्धान गरेर व्यवस्था जोगाउने कि संरक्षण गरेर व्यवस्था फाल्ने भन्ने प्रश्न उब्जिएको छ ।

– संसद् ०८४ सम्म रहन्छ कि रहँदैन भन्ने आशंका गर्नुभयो त्यसका आधार के हुन् ?

त्यसका आधार पूर्वराजाको आकर्षण र देखिएको भीड नै लक्षण हो ।

– संविधान संशोधनको कुरा पनि गर्नुभयो । सबै विषय यो संविधानले समेट्न सके पनि राजसंस्थाको पुनःस्थापना यो संविधानले कसरी समेट्न सक्ला र ?

डरमर्दो के छ भने २०६२–६३ को आन्दोलनको बलमा यो व्यवस्था स्थापना भएको हो ।

त्योभन्दा ठूलो आन्दोलन भयो भने मात्रै पूर्वराजतन्त्र पुन:स्थापित हुन सक्छ । गणतन्त्र घोषणालगत्तै मैले लेखेको थिएँ– यो राजतन्त्रले धर्मको आवरणमा फर्किने योजना बनाउन सक्छ भनेर । अर्को बाटो छैन ।

धर्मको आन्दोलनमा जाँदा अयोतुल्लाह खोमेनीको उदाहरण हेरौँ । इरान कहाँ पुग्यो ?

पश्चिमको समर्थनमा एउटा धार र दक्षिणको समर्थनमा अर्को देखिएको छ । 

Pahadi7-1695978342.jpg

अर्को महत्त्वपूर्ण कुरा के छ भने सन् २०२४ मा भारतमा हुन लागेको निर्वाचनमा कुन अवस्थामा हुन्छ र कस्तो परिणाम आउँछ । अधिकांशका सर्भे हेर्दा मोदी नै फेरि आउने देखिन्छ भनेका छन् ।

त्यसले नेपालमा अर्थ राख्छ । अर्को बीआरआई र एमसीसीको चपेटामा मुलुक कता जान्छ भन्न सकिन्न । चिनियाँ कचकच नेपालमा निकै बढेको छ । 

नेकपा एक हुनुपर्छ भन्ने फर्मूलामा चिनियाँहरु लागेकै छन् । चिनियाँहरुले नलुकाइ भनेका छन्– हामी नेकपा एक भएको हेर्न चाहन्छौँ । कम्युनिष्ट सरकार बन्नुपर्छ । 

समाजवादी मोर्चामा उपेन्द्र यादव प्रधानमन्त्री खान पाइन्छ कि भनेर गएका हुन् नभए साम्यवादीको गठजोड हो ।

एकातिर यो छ भने अर्कोतिर भारतमा इन्डो प्यासिफिक सम्मेलन गरियो । नेपालबाट प्रधान सेनापति भाग लिन जानुभयो । यो दृश्यलाई चिनियाँले राम्रो मानेका छैनन् । 

भू–राजनीतिक अवस्था पनि नजिकबाट नियाल्नुपर्छ । २००७ सालको आन्दोलनमा भारतकै सहयोग भयो । राणा शासन गयो । 

२०१७ सालमा पञ्चायत आयो, त्यो बेलाको हिन्दुस्तानलाई च्यालेन्ज गरेर बीपी कोइरालालाई कसैले जेलमा राख्न सक्थ्यो होला र ? तर केही सामरिक स्वार्थका नाममा भारतले आँखा चिम्लियो ।

सन् १९७७ मा भारतमा जनता पार्टीको सरकार आयो नेपालको विद्यार्थी आन्दोलनले जनमत संग्रहसम्म लैजान बाध्य पार्यो ।

जब १९८० मा चुनाव भयो फेरि इन्दिरा गान्धी शक्तिमा आउनुभयो, त्यसको असर यहाँ पर्‍यो ।

१९९० मा आउँदा जनता दल नै चन्द्रशेखर अध्यक्ष हुनुहुन्थ्यो । बीपी सिंह प्रधानमन्त्री हुनुहुन्थ्यो । यहाँ ०४६ सालको आन्दोलनमा बल पुग्यो । यो यथार्थ हो ।

२०६२–६३ मा पनि भारतको सहानुभूति थियो । तर जब संविधान जारी गर्ने बेलामा भारतले अहिले लागू नगर भन्यो नेपाली समाजले मानेन । भारत त्यसबेलादेखि भौतारिएकै हो ।

भारतले हुँदैन भनी नाकाबन्दी हुँदा पनि संविधान जारी गर्‍यौँ भारतीयहरु त्यो खुस्काउन चाहन्छन् ।

अर्को एमसीसीमा सहमति हुनुभन्दा अघि चीनले लागू गर्नु हूँदैन भनेर खुलारुपमा भनेको हो । तर लागू भयो ।

अर्को अमेरिकाको पैसा लिन कति हानथाप गरेका हुन्छन् । अमेरिकाले अर्कोतिर दिन्छु भन्दा आत्तिन्छन् । तर हामीकहाँ चिनियाँ ‘स्पोन्सर’मा त्यसको विरोध गरियो । यी सबै नेपालको सामरिक र भूराजनीतिक कारणले भएका हुन् ।
नेताहरुले चीन, अमेरिका र भारतलाई पनि खेलाउन सकिन्छ भन्ने ठाने । यस्तो खेलाउने व्यवहारले लोकतन्त्र खतरामा मात्रै त होइन राष्ट्रको स्पन्दन नै रोकिने त होइन भन्ने खतरा बढ्यो । तिनले भेटेको दिनमा हिर्काउन सक्छन् ।

Pahadi6-1695978342.jpg

– यस्तो अवस्थामा नागरिक समाज कहाँ छ ?

मैले यतिमात्रै भन्छु– नागरिक समाजमात्रै होइन संविधानलाई गतिशील बनाएर जानुपर्छ ।

संसारमा संविधानमा सबै कुरा भद्रगोल लेखिँदैन । सञ्चारमाध्यम, मानवअधिकार संस्था र प्रेसको पुनरवलोकन आवश्यक छ । हामी कहाँ पार्टीको दास बन्ने प्रवृत्ति हाबी भयो कि !

भ्रातृ संस्थाको अवधारणा बढाइयो कि ! हामी चुक्दाखेरीको परिणाम हो यो । भ्रष्टाचारविरुद्धको आन्दोलन पनि अघि बढाउन सकिएन ।

२०६६ सालमा नै भनेको थिएँ– नागरिक समाज अतिवादका विरुद्ध लड्ने औजार हो यसलाई भुत्ते बनाइयो । अहिले त कुन देशका र कुन दलका नागरिक समाज भन्ने अवस्था देखिइरहेको छ । त्यसैगरी चिनिन थालेका छन् ।

मिडियामा पनि त्यसैगरी लगानी गरिएको छ । नागरिक समाजको प्राण भनेको प्रेसको शक्ति हो । भारतीयले नेपालको नागरिकता लिए भनेर हाहाकार मच्चाइयो चिनियाँहरुलाई घर–घरमा लगेर दिइयो ।

भारतमा भारतीय सेनाले चिनियाँ जासुस भनेर पक्राउ परेका मान्छेको नेपालमा नागरिकता दिनुलाई कुन रुपमा लिइएको होला । उनीहरुलाई माओवादीले नागरिकता दिएको खुल्न आएको छ ।

– अघिल्लो चुनावबाट आएका नयाँ शक्तिलाई कसरी हेर्ने ?

नागरिक मात्र होइन, कतिपय बुद्धिजीवीहरु कस्ता छन् भने हावा जता चल्यो त्यतै अघि बढ्छन् । त्यसैगरी यता ठोक्किएको हो । उनीहरुको बारेमा धेरै टिप्पणी किन नगरौँ, किनभने अलि हतार हुन सक्छ । ठूला भ्रष्टलाई किनारा लगाउने हो भने बाँकी कुरा आफैं अघि बढ्छ । तर एउटा कुरा के सत्य हो भने नेपालको राजनीति प्रचण्डले चाहिँ बुझ्नुभएको छ ।

उहाँको एउटा टिप्पणी छ– राप्रपा यिनीहरु हिन्दु राष्ट्र भन्दै राजतन्त्रमा जान्छन्, अर्को त्योभन्दा ठूलो पार्टीको कलर स्पष्ट भएको छैन भन्नुभयो । रंग स्पष्ट नभएकाहरु भीड जता लाग्यो त्यतै लाग्छन् । 

– लोकतन्त्र धरमरमा परेको हो, त्यसो भए ?

किस्ताबन्दीमा लोकतन्त्रको हत्या भइरहेको छ । म चाहिँ जेलै जानुपर्छ भन्ने अवस्था देखिरहेको छु । अतिवाद बढ्दा पनि आक्रमण हामीमाथि नै हुन्छ ।  गणतन्त्र ल्याउने यिनीहरु नै हुन् भन्नेहरु छन्, त्यसो हुँदा हामीलाई नसिध्याउँदासम्म अर्को व्यवस्था आउँदैन भन्नेहरु छन् । तर म चाहिँ लड्छु । 

लोकतन्त्र गइहालेछ भने म शून्यबाट अहिंशात्मक आन्दोलन थाल्छु । मैले सत्ताको लाभ लिएको छैन । 

शासन व्यवस्था बिरामी भयो । अब घाटे वैद्यको शरण पर्ने कि शीर्ष नेताको दास बन्ने ? 

पञ्चायतको विरोध गर्न पाइँदैन भन्दा पञ्चायत गयो । बहुदलीयकालमा राजाको विरोध गर्न पाइँदैन भन्दा राजतन्त्र नै गयो । अब शीर्ष नेता भ्रष्ट देखिएपछि तिनलाई बोकिरहने हो भने यो व्यवस्था पनि जान्छ ।

कांग्रेस र एमाले मुख्यरुपमा जिम्मेवार छन् । कांग्रेसको काँधमा चढेर माओवादीले सारा विकृति गर्दा ऊ हनुमान बनेको छ ।

कांग्रेसले पुष्पकमल दाहाललाई ‘राम’ मानेको छ । नागरिक समाज भनेर सडकमा जाँदा दुईवटा धारले कब्जा गरेका छन् । जातीय मोर्चा र धर्मको नाममा राजतन्त्र पुनरागमन गर्ने समूह छन् ।

यो व्यवस्था बचाउने भन्दा अहिले थोरै मान्छे आउँछन् तर यो व्यवस्था हामीले ल्याएको हो । हामी व्यवस्था फाल्न सक्दैनौँ ।  हामीले जुन योगदान दिएर लोकतान्त्रिक गणतन्त्र स्थापना गरेका छौँ यो फाल्ने प्रयास भयो भने नेपाल सय वर्ष पछि धकिलिनेछ ।

त्यसैले हामी शीर्ष नेताका भ्रष्ट चरित्रविरुद्ध चट्टान हुनुपर्छ, त्यसो हुँदा मात्र व्यवस्था जोगिन्छ, नत्र व्यवस्था खतराको संघारमा छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १४:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राष्ट्रिय सरकार अर्थहिन ‘सगुफा’
राष्ट्रिय सरकार अर्थहिन ‘सगुफा’
SubisuSubisu