site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Siddhartha BankSiddhartha Bank
लक्ष्यमा समर्पित गणेशमान सिंह

कुन प्रेरणाले होला गणेशमान सिंह जीवन समर्पित गर्ने प्रजातान्त्रिक आन्दोलनमा लाग्नुभएकोे ? काठमाडौंको सम्पन्न परिवारका सदस्य सिंहले देखेको सपना नै जनता वा देशको भविष्य सुन्दर बनाउने एकमुष्ट प्रेरणा थियो ।

आफ्नो समयमा उहाँले नेपाली समाजलाई प्रभावित गर्नुभयो । धेरैलाई त्यही बाटो हिड्न प्रेरित गर्नुभयो । राजनीतिमा त्यो पुस्ताले आर्जन गरेको विश्वास र जनतालाई दिएको भरोसा अहिलेको परिवेशमा लोभ लाग्दो आग्रह त हुँदै हो अभाव पनि हो ।

त्यो समय त छैन अहिले । त्यस्तो संयम पनि छैन समाजमा । त्यस्तो विश्वास र भरोसाको युग पनि सकिएको हो कि राजनीतिमा ? यहाँ जता हेर्यो रिक्तैरिक्त देखिन्छ । त्यस्तो रिक्तता भर्ने कसले ?

Agni Group
NIC Asia

सम्झना त्यस्ता छन्, गणेशमान सिंह अद्भूत लाग्नुहुन्छ । संघर्ष मान्छेको संस्कार हो । अनिवार्य संस्कार । उहाँ एक्लै हिड्नुभयो । हजारौंको माझमा पनि भेटिनुभयो । उही सिंह एक्लै र हजारौंबीच पनि कहिले फरक देखिनु भएन । निराशाले उहाँलाई उछिन्न सकेन । अथक हिँडी रहनुभयो । नेपाली राजनीतिमा अमिट पदचिन्ह देखाएर सर्वमान्य नेता गणेशमान सिंह जानुभएको पनि २६ वर्ष भएछ ।

राजनीतिक दलहरू प्रतिबन्धित थिए । राजा नेतृत्वको निर्दलीय पञ्चायती शासनको रजगज थियो । विचारको कुरा, अपेक्षाको सार र देशको हालबात पनि बिस्तारै बोल है– ‘भित्ताको पनि कान हुन्छन्’ भन्ने भयग्रस्त समाज स्थापना गर्ने शासन व्यवस्था थियो । भन्थे जनताको राजा । तर, जनताको भाव नै बन्दी थियो । प्रतिबन्धित थियो ।

Global Ime bank

समयले त्यस्तो कठोर खण्ड पनि बेहोरेको हो । समयलाई बन्दी बनाउने दुष्चेष्टाको कालखण्ड नेपाली समाजले पार गरेर यहाँसम्म आएको हो । अहिलेको खण्डमा उभिएर हेर्दा अकल्पनीयजस्तै लाग्छ ।

केही भोगाइ र धेरै इतिहासले भन्छ नेपालले झन्डै तीनसय वर्ष बन्दी जीवन बितायो । खास परिवारको मतलब पूरा गर्न लगायो । यी तीन सय वर्ष जतिबेला विश्वले आधुनिक चेत, संघर्ष र मानवीय युगको नयाँ उद्बोध गर्दै थियो । अहिलेको विश्व व्यवस्थाको जग बसाउँदै थियो । तर, हामी तीन सय वर्ष पछाडि पर्यौँ वा पारियौँ । राणाले बन्दी बनाए । राजशाहीले बन्दी बनायो । स्वघोषित सम्प्रभु जमातले जनताको एक युग सकायो ।

त्यही हिस्साको, निर्दलीय पञ्चायती संस्थापनको सुस्वादु सपना देख्नेहरू अहिले स्वतन्त्र छन् । तिनका विचार समेत निर्वाध प्रवाह गर्ने माध्यम प्रणाली छ । गणेशमानले कल्पना गरेको वा योग गरेको यही स्वतन्त्र प्रणालीप्रति पनि ती कृतघ्न सुनिन्छन् ।

यिनीहरुलाई सुन्दा लाग्छ राणा शासनको ‘फिर्ती सवारी’को आग्रह गर्ने दल किन नबनाएको होला ? राजनीतिमा राणा छन् तर तिनको शानको पुनःस्थापनाको आग्रह किन मरेको होला ? भन्दिए हुन्थ्यो–भौतिक विकासको सूत्राधार राणा शासन त हो । यस्तालाई मसला छ नि ?

त्यही बेला चन्द्र ज्योति आयोे । जुद्ध सडक बन्यो । त्रिचन्द्र कलेज बनाइयो । दरबार हाइस्कुल खुल्यो । गिद्धे प्रेसले प्रवेश पायो । गोरखापत्र छापियो । देशको पैसाले ठूला ठूला दरबार बनाइए । ती सबै देशका सम्पत्ति, सम्पदा भए । आदि विभूषणले विभूषित राणा शासन प्रत्याभूत गर्ने अर्को राजनीतिक दल ‘उही असली बाजेको पेडा’ भनेजस्तै किन नखोलेका होलान् ? केहीको प्रवृत्ति सुन्दा यस्तै लाग्छ ।

के समय यसका लागि तयार छ ? राणा समय पुनःस्थापनाको लागि ? त्यही समय र स्थितिलाई धक्का दिएर जनताको युग ल्याउन गणेशमान सिंहले अग्रिम संघर्षको यात्रा रोज्नुभएको हो । तानाशाही, अधिनायकवाद र एकीकृत सत्ताको अवस्थिति अन्त्य गर्न नै गणेशमान उभिनुभयो । जीवन भर अथक उभिनुभयो ।

परिणाम नागरिक स्वतन्त्रताको हकका रूपमा आएको हो । राजनीतिमा उत्साहित अहिलेको पुस्ता कुन ‘कन्भिक्सन’ले राजनीतिमा उछलकुद गर्दै छ ? तिनले प्राप्त गर्न खोजेकोे उद्देश्य के हो ? यिनीहरूभित्र के त्यो आदर्श प्रेरणा जीवन्त छ ?

अहिलेको राजनीतिक अवस्था वा चरित्रले त्यस्ता, यस्ता थुप्रै प्रश्नलाई जन्माएको छ । प्रश्न प्रश्नमात्रै होइनन् । प्रश्नैप्रश्नले घेरिएर मानिस निराशाको भारीले थिचिँदै छ । प्रस्टै भन्न सकिन्छ अहिलेको राजनीति सञ्चालकले गणेशमानले देखेको आदर्श चरित्रको बाटो हिँड्न सकेन । त्यागको पनि गोरेटो समाउने र हिँड्ने इमान वा प्रयत्न गरेकै पनि देखिँदैन ।

यही, यस्ता कारण पछाडि फर्कने समयको आग्रह गर्ने र जे भन्दिए जनता उचालिन्छन् त्यही भन्दिने चरित्रले राजनीति रित्तिदै गएको ठाउँमा घर बसाउन खोजेको हो । अहिलेका राजनीतिकर्मी जसले तालासाँचो समाएका छन् तिनले राजनीतिक चरित्र स्थापित गर्न नसक्दा अविश्वास,  दलप्रतिको भरोसा र अन्ततः लोकतान्त्रिक पद्धतिप्रति नै आशंका बढी भएको हो ।

गणेशमान सिंह हिँडेको पदचाप अहिलेको चरित्र भित्र्याउने प्रकारको होइन । त्यो आदर्श प्रेरित थियो । अहिले विरोधाभाष व्यापक छ जसले गर्दा मानिस आफ्नै भरोसासँगै अविश्वस्त हुँदैछ ।

सम्झनामा गणेशमान शुभ्र हुनुहुन्छ । उहाँको उद्देश्य पनि शुभ्र थियो । चरित्र पनि शुभ्र । राजनीतिमा हुनुपर्ने जस्तो शुभ्र प्रवृत्ति हो त्यस्तै गणेशमान । जतिबेला उहाँलाई देख्दा डराउने धेरै थिए । कर्मचारीहरु उहाँ हिंडेको बाटो छोडेर अर्को बाटो लाग्थे । वा नदेखे झैँ घोसे मुण्टो लगाएर हेर्ने र झन्  छिटोछिटो बाटो काट्ने थुप्रै थिए । किन ?

हामी जस्ता ‘केटा’लाई उहाँ प्रेरणा हुनुहुन्थ्यो । सम्झन्छु – उहाँलाई बाटोमा भेट्दा बिस्तारै ‘जय नेपाल’ शब्दले नमन गर्दा रोमाञ्चित भएको । उहाँ मुस्काएर नमन स्वीकार गर्ने । पछि केही सोध्न पनि थाल्नुभयो ।

हातमा छाता र लठ्ठी । बिस्तारो चालमा  ठमेल, चाक्सीबारीबाट प्रतिबन्धित नेपाली कांग्रेसको कार्यालय जमलमा आउने उहाँ । कन्या हाइस्कूल लैनचौरबाट बिदा भएर जमलतिर जाँदा उहाँसँग बाटोमा भेट हुने । सेतो कमिज, छरितो सुरुवाल, पाइजामा आकारको ह्वार्लांगे सुरवाल र हापकोटमा उहाँ प्रायः भेटिने । सगरमाथा आकृतिमा पट्याइएको कालो भादगाउँले टोपी ।

यस्तै हुलियामा उहाँलाई धेरैपटक भेटेँ । धेरैजसो नारायणहीटी दरबारको चौबाटो पेटीमा वा अहिलेको निर्वाचन आयोगको ढोका अगाडि उहाँ भेटिने । पछिपछि हिँँड्दै जमल पुग्ने, बस्ने र उहाँहरूको बात सुन्ने । जहाँ किसुन जी र गिरिजाबाबु हुने । केही सीमित कार्यकर्ता जो प्रायः सधैँ त्यहाँ आउने हुन्थे । उहाँ, किसुन जी र गिरिजा बाबुबीचको भेट, कुराकानी र हार्दिकता देखेरै म अभिभूत भएको हुँ । यस्तो आकर्षणले समय मिल्दा दिनचर्या नै जमल जाने बस्यो ।

उहाँसँग भरोसा थियो । विसं २०४६ साल माघ ४ र ५ गते उहाँको घर प्रागंणमा भएको संयुक्त आन्दोलनको तयारी सभामा उपस्थित हुने सौभाग्य पनि पाएँ । उहाँ त्यो संयुक्त आन्दोलनको सर्वमान्य सर्वोच्च नेता हुनुहुन्थ्यो । अर्थात् कमान्डर ।

प्रजातन्त्र । संवैधानिक राजसंस्थासहितको बहुदलीय प्रणालीलाई केन्द्रीय उद्देश्य बनाएर त्यो आन्दोलन भएको थियो । सहाना प्रधानको नेतृत्वमा बनाइएको वाम मोर्चालाई पनि मिलाएर नेपाली कांग्रेसका सर्वोच्च नेता सिंहको नेतृत्वमा आन्दोलन भएको हो ।

त्यतिबेला बनारसका गल्लीमा छरिएका ‘गद्दार पुष्पलाल’ भन्ने पर्चा पढेको याद आएको हो । ठीक त्यही सूत्र थियो बीपी र पुष्पलालबीच संयुक्त आन्दोलनको परिकल्पनामा । तर, त्यही सूत्रको विरुद्ध त्यतिबेलाका कम्युनिस्टले पुष्पलाललाई गद्दार घोषित गरे । मोहनविक्रम सिंहले त यही नाममा पुस्तकै लेख्नुभयो ।

कम्युनिस्टका ‘राजनीतिक वैतरणी’ यिनै गणेशमान सिंहलाई जनमत संग्रह ताका हेटौँडामा कालोमोसो दलेर कम्युनिस्टहरू स्वघोषित क्रान्तिकारी बने । निर्दलको पक्षमा उभिए, जनमत संग्रह धोका हो भन्दै । यतिबेला पनि बहुदलीय प्रणालीको पक्षमा कम्युनिस्टहरूले समर्थन गरेको भए देशको राजनीतिक बाटो अर्कै तय हुने थियो । अर्को दश वर्ष कुर्नु पर्थेन । सायद, माओवादी नामको हत्या, हिंसा पनि हुने थिएन ।

विसं २०४६ सालमा त्यो संयुक्त आन्दोलनको लागि झन्डै दुई दशक मुलुक र जनताले कष्ट सहनुपर्यो । बीपी, पीएल सूत्रमा त्यहीबेला संयुक्त आन्दोलन हुन्थ्यो भने देशको राजनीतिक मार्ग बीस वर्षअघि नै पक्कै अर्कै हुने थियो । कम्युनिस्टहरूले परिवर्तनलाई रोके । पञ्चायतलाई बारम्बार सघाउने कम्युनिस्ट प्रवृत्ति त्यतिबेला पनि प्रकट भएको हो ।

गणेशमान सिंहको २६ औँ स्मृति दिवसको अवसरमा संविधान सभाबाट नेपालको लोकतान्त्रिक संविधान बनेको पनि आठ वर्ष भएको छ । कहीँ नभएको जात्राजस्तै हामी सातौं संविधानको अभ्यासमा छौँ र अझै चित्तबुझेको छैन । संविधान फेर्ने धोको छ तर आवश्यक संशोधनले समय सम्बोधन गर्ने राजनीतिक तदारुकता छैन ।

संविधान र राजनीति लोकतन्त्रको मर्मअनुकूल परिचालन गरिएको छैन । अगाडि कालो दृश्य छ । गणेशमानको शुभ्रतालाई छाँयामा पारिएको छ । अहिलेको पुस्ताले उहाँलाई देखेन तर राजनीतिमा त छ । त्यसले कसरी बुझ्छ गणेशमान सिंहको समर्पणलाई ? उहाँको आदर्श राजनीतिलाई ?

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  ०९:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राष्ट्रिय सरकार अर्थहिन ‘सगुफा’
राष्ट्रिय सरकार अर्थहिन ‘सगुफा’
SubisuSubisu